जेनजी आन्दोलनका क्रममा पेस्तोल बोकेको युवकको फोटो भाइरल, प्रहरीको खोजी तीव्र

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले खोजी तीव्र पारेको छ । तस्बिरमा देखिएका युवकको प्रहरीले समेत खोजी सुरु गरेको हो ।

केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको बेला पेस्तोल बोकेको युवाको फोटो पनि भाइरल हुन पुगेको हो । यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एकजनाले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरीसमेत गम्भीर बनेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उक्त फोटो र यससँग सम्वन्धित फुटेजहरु संकलन गरिएको बताए । ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उनको भनाइ छ ।

तस्बिरमा बिजुलीबजार पुलजस्तो देखिने स्थानमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्बिर सक्कली भएको आँकलन प्रहरीले प्रारम्भिकरूपमा गरेको छ ।