शिक्षामन्त्री पुनको जेनजीलाई एकताबद्ध हुन आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जनजी समूहहरूलाई खुट्टा टान्ने र गुटबन्दीमा नलागी एकतावद्ध हुन आग्रह गरेका छन् ।

गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्तिले देश नै नरहने अवस्था आउनसक्ने तर्फ सचेत गराउँदै उनले एकताको खाँचोलाई औँल्याएका हुन् ।

इतिहासदेखि हालसम्मका घटनाक्रमलाई उनले ६ बुँदामा उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन् ।

‘सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किनभने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ’ उनले लेखेका छन्, ‘मातृभूमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।

उनि लेख्छन्,
राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेनजी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।

१. नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध विक्रम र राजेन्द्र विक्रम शाहको पालासम्म आइपुग्दा चरम बिन्दुमा पुगिसकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।

२. राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीर शम्सेरकै पालादेखि गुटबन्दी सुरु भयो। उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गका राणाहरूमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरेर एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए ।

३. २००७ सालमा प्रजातन्त्रको घोषणा भएपनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन। त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदै गरेका राजनैतिक दलहरूको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समूह बिचको गुटबन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।

४. २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालवाजी खेल्थे। त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।

५. २०४६ साल देखि २०८२ सालको अचानक विष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर विश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेनजीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए।

६. यो माथिको इतिहास हेरेर जेनजीहरूले पाठ सिक्न अनुरोध छ। तपाईंहरु भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईंहरूको राजनीतिक संगठन छैन। तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईंहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पूरा गर्नको लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ। मातृभूमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।