माओवादी अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्वलडाकु खटिए

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वलाडाकुले सुरक्षा दिन थालेको छ ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले दिएको जानकारी अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएका हुन् ।

उनले भने, ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौँ,’

स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । र अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्नेछ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ ।

१० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग ९वाईसीएल०को रूपमा युवा संगठन बनाएको थियो ।