भौतिक मन्त्री घिसिङले चालक र यात्रुलाई दिए यस्तो सुझाव

काठमाडौं । चाडपर्वमा यात्रा सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चालक र यात्रुलाई विभिन्न खाले सुझाव दिएका छन् । काठमाडौंलगायत शहरबाट दशैँमा घर जाने यात्रुको चाप बढिरहेका बेला मन्त्री घिसिङले आज बिहान सामाजिक सञ्जालमार्फत चालक र यात्रुहरुलाई विभिन्न चार सुझाव दिएका हुन् ।

उनले सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष अनुरोध गर्दै भनेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो । त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।’

उनले चालकहरुलाई गति नियन्त्रणमा राख्नु सुझाव दिएका छन् । उनले लेखेका छने, ‘गति नियन्त्रणमा राख्नुस् । मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस् । विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस् ।’

मन्त्री घिसिङले यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पु¥याउन चालकसँग अनुरोघ गरेका छन् ।
मन्त्री घिसिङले भनेका छने, ‘यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध– क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौँ, चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौँ, यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔँ ।’

र, उनले अगाडि लेखेका छन्, ‘यस दसैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो । सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो । यहाँहरू सम्पूर्णलाई दसैँको हार्दिक शुभकामना !’