बिराटनगर । नेकपा एमालेले जेनजी आन्दोलनको बेला सरकारी भवन र निजी सम्पत्तिमा विध्वंस मच्चाउने आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन थालेको छ । तोडफोड, आगजनी तथा लुटपाटमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता संलग्न पाएपछि एमालेले कारबाही गर्न सुरु गरेको छ ।
संलग्नताबारे आएको सूचनाको आधारमा नामावली संकलन भइरहेको र उनीहरुलाई पार्टीले कारबाही पनि गर्न थालेबको हो । नेकपा एमाले कमल गाउँ कमिटी झापाले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा वीरेन्द्रप्रसाद तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
उनी कमल–५ का बासिन्दा हुन् । गाउँ कमिटी झापाले विज्ञप्ति जारी गरेर आन्दोलनका क्रममा प्राप्त भिडिओ र तस्बिरका आधारमा तिवारीलाई कारबाही गरेको जनाएको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताएका छन् ।
उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । तर सार्वजनिक सम्पत्तिमा विध्वंस गर्न पाइँदैन ।’
सबुद संकलन थालिएको भन्दै खतिवडाले नेपाल प्रेससँग भने, ‘हामी प्रमाणका आधारमा कारबाही गर्छौं । सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेलाई पार्टीका कार्यकर्ता भनेर संरक्षण गर्दैनौं । ’
अराजकता मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पार्टीले सहयोग गर्ने समेत उनले बताए ।

प्रतिक्रिया