कांग्रेसले फेरी गर्यो प्रतिनिधिसभा विघटनको बिरोध

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको फेरी विरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको कुरा दोहोर्‍याएको हो ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले आज एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।

‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ ।’

यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको उनले बताएका छन् ।

साथै, उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरे । भदौ २३ र २४ गते भएको घटनाको सम्पूर्ण छानबिन गर्नका लागि माग गरेको स्मरण गराउँदै सरकारलाई पुन: स्मरण गरिएको बताए ।