काठमाडौं । जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन समझदारी जुटेसँगै आजै उनलाई सपथग्रहण गराइने भएकाे छ ।
हिजाे मध्यरातिको छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका हुन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न सकेन ।
अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानका विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि करिब साढे ४ घण्टा वार्ता भएको थियो ।
वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी थिइन् ।
वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएपनि संसद् विघटनको सवालमा सहमत भएका छैनन् ।
प्रतिक्रिया