अन्तरिम सरकारकाे नेतृत्वका लागि आज निर्णायक वार्ता हुँदै

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको हो ।

जेनजी प्रतिनिधिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छ । त्यसलाई आजको छलफलले औपचारिकता दिन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिसँग बिहीबार बिहानदेखि छलफल हुने भएको छ । आजको छलफलले निर्णय गर्ने उनको विश्वास छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाले गरेको दुई दिने प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । जेनजीको माग अनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरिसकेका छन् ।

यस्तै, नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।