काठमाडौं । लुटपाट र आगजानी गर्नेविरुद्ध नेपाली सेनाले ‘अपरेशन’ थालेको छ । हिजाे मंगलबार बेलुका १० बजेदेखि देशभरको कमाण्ड सम्हालेर नेपाली सेनाले ‘अपरेशन’ थालेको हो ।
काठमाडौं उपत्यकामा सेनाले लुटपाटजन्य गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिन थालेको छ। बानेश्वर क्षेत्रबाट यसरी नियन्त्रणमा लिन थालिएको सेनाले जनाएको छ।
नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार (भदौ २४) आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३ र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ ।
सेनाले राति १० बजेदेखि शान्ति, सुरक्षा कायम गर्न र नेपाली जनताको रक्षाका लागि खटिने जानकारी केही समयअघि विज्ञप्तिमार्फत दिएको थियो।
‘यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।
नेपाली सेनाले केही ठाउँमा हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको छ। हतियार, गोली, पकेट बम, पेस्तोल पनि विभिन्न ठाउँका प्रदर्शन र लुटपाटमा प्रयोग भएका देखिएका छन्।
सुरक्षा स्रोतका अनुसार, केही हतियार प्रहरीबाट लुटिएका हुन सक्ने भए पनि कतिपय प्रहरीले पनि प्रयोग नगर्ने खालका हतियार देखिएका छन्।
प्रतिक्रिया