विधान महाधिवेशनमा पूर्व राष्ट्रपति भण्डारीकाे सदस्यताकाे विषयमा छलफल हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय अनावश्यक रूपमा उठाइएको टिप्पणी गरेका छन्। उनले यो विषय पार्टीको विधान महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नहुने अडान लिएका हुन ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यता विषय कमिटीगत छलफलको विषय भएको बताएका हुन।

“विधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती महाधिवेशनसँग सम्बन्धित होइनन्,” उनले भने, “यी विषयहरू स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गरिने हो।”

अध्यक्ष ओलीले महाधिवेशन विधान संशोधन र सांगठनिक सुधारमा केन्द्रित हुने बताएका छन्। उनका अनुसार, महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी तीन प्रमुख प्रतिवेदन प्रस्तुत हुनेछन् ।

भण्डारीको सदस्यता विषय पार्टीको आन्तरिक प्रक्रिया अनुसार संयुक्त रूपमा टुंग्याइने एमाले अध्यक्ष ओलीको भनाइ छ । उनले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्तिबाट जोगिन सबैलाई आग्रह गरे ।