काठमाडौं । सत्ता गठबन्धनका नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख ईन्दिरा रानामाथि महाअभियाेग लगाउने तयारी गरेकाे छ ।
त्यसका लागि दुई पार्टी आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको एक नेताले जानकारी दिएका छन् ।
यस्तै सत्ता साझेदार नेपाली कांग्रेसको पनि अहिले पदाधिकारी बैठक बसिरहेको छ । बैठक सकिए लगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । संसदीय दलको बैठकमा जाँदै गरेका एक नेताले भने, ‘हामीलाई आकस्मिक बैठकमा आउन पर्यो भनेर बोलाइयो । छलफलको एजेण्डा भने त्यहीँ पुगेपछि थाहा होला ।’
उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ । उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको स्रोतको भनाइ छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् ।
प्रतिक्रिया