घुस प्रकरणमा जोडिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस डिल गरेको प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि ७८ लाख घुस काण्डमा मुछिएका उनले आज पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए ।

उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने स्रोतले बतायो ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।