१०-१५ दिन अगाडि नै देउवालाई सत्ता हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । बरु १०–१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु ।’ उनले कांग्रेस र एमालेबीचको गठबन्धन ०८४ सालको निर्वाचनसम्मै कायम रहने पनि बताएका छन् ।

ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसिरहेका नेपालीलाई शुभकामना दिए। त्यसैगरी उनलले युरोपमा कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका छन् । त्यसै गरी प्रधानमन्त्री ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिन ओली यही असार १४ गते स्पेन गएका हुन् । उनी असार २० गते साँझ ४ः४५ बजे स्वदेश फर्किने तालिका छ ।