नैतिकताका हिसाबले खतिवडा र दुराले राजिनामा दिनुपर्छ : एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ । एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो’, सांसद गिरीले भने, ‘जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’

‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनु पर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ’, नेता गिरीले भने । कुलिङ पिरियडमा छेडखानी भएको पाइएपछि समिति सभापति खतिवडाको चौतर्फी आलोचना भइरहेको छ ।