टिकटकर रमा बस्नेत ३० हजार धराैटी बुझाएर रिहा

काठमाडौं । टिकटकर रमा बस्नेत ३० हजार धराैटी बुझाएर रिहा भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर बस्नेत आज ३० हजार धरौटीमा रिहा भएकी हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

खोटाङ घर भई हाल भक्तपुर बस्दै आएकी बस्नेतलाई गत असार १ मा पक्राउ गरेर गृह मन्त्रालयको पत्र अनुसार प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले बुधबार मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको टिप्पणी गरेकी थिईन ।

भिडियो बनाइ घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी सहित जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको थियो ।