प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमण जाने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६-१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ। 

प्रधानमन्त्री ओलीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटसमेत हुने दूतावासले जनाएको छ। स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो। करिब ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसंख्या लगभग ४ करोड ७४ लाख छ। 

सन् १९८६ मा युरोपेली संघको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो। स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्यांक छ। स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिस्टर्ड खेलाडी रहेको मुलुक हो। भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो।

नेपाल-स्पेन दौत्य सम्बन्ध

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो। स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ। स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ। उनीहरूमध्ये विशेषगरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ। 

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको चार दिने राजकीय भ्रमण गरेका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए। त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो। त्यसअवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो। वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ। स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ। त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो।