कांग्रेसको महाधिवेशन ८३ मंसिरभित्र गर्न शेखरको माग

तनहुँ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ साल मङ्सिरभित्र गर्नुपर्ने माग राखेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोलदै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न उनले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उनले सबै नेता कार्यकर्तालाई आग्रह गरे ।