काठमाडौं । विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको हाे ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा आज बेलुकी ५:३० बजेबाट काठमाडौंका केही क्षेत्रमा उक्त प्रणालीको परीक्षण गरिने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार २ जी (2G) मोबाइल सञ्जालमार्फत गरिने यस परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनहरूमा चेतावनी ध्वनि (Alert Sound) सहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। प्राप्त हुने सन्देशमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) भनी स्पष्ट रूपमा उल्लेख गरिएको हुनेछ। परीक्षणको अवधिमा एउटै सन्देश एकभन्दा बढी पटकसमेत प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले मोबाइलमा त्यस्तो चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै पनि प्रतिक्रिया वा कारबाही नगर्न अनुरोध गरेको छ। यो विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र रहेको मन्त्रालयको प्रष्टीकरण छ ।










प्रतिक्रिया