पोल्यान्ड । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित ऐतिहासिक मुख्य चोकमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
घटनामा १७ जना घाइते भएका छन् भने प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ बजे कारमा आएका २४ वर्षीय पोलिस नागरिकले क्राकोको मुख्य चोकमा रहेका मानिसहरूमाथि गोली चलाएका थिए ।
आक्रमणमा चार महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घाइते हुनेमा दुई प्रहरी अधिकारी पनि छन् ।
प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमणकारीको घरमा थप तीन जनाको शव फेला परेको जानकारी दिएपछि मृतकको सङ्ख्या नौ पुगेको हो ।
ती शव दुई महिला र एक पुरुषका रहेको तथा उनीहरू आक्रमणकारीकै परिवारका सदस्य हुन सक्ने आशङ्का गरिएको छ ।
क्राकोबाट करिब २०० किलोमिटर उत्तरमा रहेको ओस्ट्रोभिएक स्विएन्तोक्रिस्कीस्थित आक्रमणकारीको घरमा सम्भावित हतियारको जोखिम देखिएपछि ड्रोन प्रयोग गरी निरीक्षण गरिएको थियो । सुरक्षा अधिकारीहरूले घरमा थप हतियार हुन सक्ने बताएका छन् ।
गृहमन्त्री मार्सिन किर्विन्स्कीले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको प्रारम्भिक सङ्केत देखिएको बताएका छन् । यस विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरीले आक्रमणमा एआर–१५ राइफल प्रयोग भएको र आक्रमणकारीसँग बन्दुक राख्ने अनुमति पत्रसमेत रहेको जनाएको छ । उनको गाडीबाट ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा बरामद गरिएको छ ।
गृहमन्त्रीका अनुसार घटनाको सूचना पाएको तीन मिनेटभित्रै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो ।
प्रहरीको तत्कालको कारबाहीले थप ठूलो क्षति हुनबाट जोगाएको उनको दाबी छ । प्रहरीसँगको गोली हानाहानमा घाइते भएका आक्रमणकारीको शल्यक्रियापछि अवस्था स्थिर भए पनि गम्भीर रहेको बताइएको छ ।
घटनाले पोल्यान्डमा व्यापक त्रास र शोक सिर्जना गरेको छ । यसअघि अक्टोबरमा विद्यालयमा भएका चक्कु आक्रमणका घटनासमेत अनलाइनमा उपलब्ध हिंसात्मक तथा अतिवादी सामग्रीबाट प्रभावित भएको आशङ्का गरिएको थियो ।
राष्ट्रपति कारोल नाव्रोकीले नोभेम्बर ८ र ९ मा राष्ट्रिय शोक घोषणा गर्ने बताएका छन् । उनले मृतक, घाइते तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कलासले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।










प्रतिक्रिया