काठमाडौँ । नेदरल्यान्ड्सको एक विश्वविद्यालयको पुस्तकालयमा दशकौँदेखि सामान्य र महत्त्वहीन ठानिएको एउटा पुरानो पाण्डुलिपिको टुक्रा वास्तवमा प्राचीन कवि होमरको प्रसिद्ध महाकाव्य ‘ओडिसी’को दुर्लभ अंश भएको पत्ता लागेको छ ।
युट्रेक्त विश्वविद्यालयले यसै महिना सार्वजनिक गरेको जानकारीअनुसार यो खोज विश्वविद्यालयको विशेष संग्रहमा गरिएको अनुसन्धानका क्रममा भएको हो ।
राडबाउड विश्वविद्यालयका प्राचीन ग्रीक तथा पपाइरोलोजीका सहायक प्राध्यापक मार्क डे क्रेइले विश्वविद्यालयको संग्रहमा रहेका ग्रीक पाण्डुलिपिको अध्ययन गर्ने क्रममा उक्त पहिचान नभएको पाण्डुलिपि फेला पारेका थिए ।
डे क्रेइका अनुसार उक्त टुक्रा यसअघि कोप्टिक इसाई पाण्डुलिपिहरूसँग राखिएको थियो । यही कारण संग्रहबारे गरिएको प्रारम्भिक अनुसन्धानमा यो छुटेको हुन सक्ने उनको भनाइ छ ।
पछि उक्त टुक्रालाई ग्रीक पाण्डुलिपि राखिएको बाकसमा सारिएको थियो । त्यहाँ पनि यसलाई सुरुमा सामान्य टुक्राका रूपमा हेरिएको थियो ।
विश्वविद्यालयका अनुसार सातौँ शताब्दीको सामान्य टुक्रा ठानिएको, क्षतिग्रस्त र रङ उडेको उक्त पाण्डुलिपिमा अत्यन्तै साना र सफा अक्षर थिए । तर डे क्रेइले त्यसमा होमरका महाकाव्यमा प्रयोग हुने केही विशिष्ट शब्द पहिचान गरे ।
ओडिसीको १२औँ पुस्तकका अंश
अनुसन्धानकर्ताका अनुसार पाण्डुलिपिमा होमरको ‘ओडिसी’को १२औँ पुस्तकका केही श्लोक छन् ।
त्यसमा ओडिसियसका साथीहरूले सूर्यदेव हेलिओसका पवित्र गाई मारेर खाएको महत्वपूर्ण प्रसंग समावेश छ । त्यसपछि हेलिओसले देवता जिअससँग बदला लिन माग गर्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार यो पाण्डुलिपि करिब सन् ३०० तिर इजिप्टको फैयुम ओएसिस क्षेत्रमा बस्ने कुनै पाठकको स्वामित्वमा रहेको हुन सक्छ । पाण्डुलिपिलाई तेस्रो वा चौथो शताब्दीको आसपासको मानिएको छ ।
विश्वविद्यालयका अनुसार संसारभर यस प्रकारका करिब ३० वटा मात्र टुक्रा रहेको अनुमान छ ।
विश्वविद्यालयले यसलाई ‘ओडिसी’को सम्पूर्ण महाकाव्य समेटिएको सानो आकारको संस्करण अर्थात् ‘पकेट संस्करण’को अंश हुन सक्ने बताएको छ । तर केही विशेषज्ञ यस व्याख्यामा पूर्ण रूपमा सहमत छैनन् ।
सम्पूर्ण ‘ओडिसी’ थियो कि केही अंश मात्र ?
अस्ट्रियन एकेडेमी अफ साइन्सेसअन्तर्गत अस्ट्रियन आर्कियोलोजिकल इन्स्टिच्युटकी रोमन इतिहासकार तथा पपाइरोलोजिस्ट अन्ना डोल्गानोभले उक्त टुक्रा ‘ओडिसी’को पूर्ण प्रति नै थियो भन्नेमा प्रश्न उठाएकी छन् ।
उनका अनुसार सम्पूर्ण ‘ओडिसी’ समेट्न करिब ४८० पृष्ठ आवश्यक पर्थ्यो । यति धेरै पृष्ठ भएको पाण्डुलिपि सानो आकारमा राख्दा निकै बाक्लो हुने भएकाले त्यो पूर्ण प्रति हुन सम्भावना कम रहेको उनको तर्क छ ।
उनले पाण्डुलिपिको हस्तलेखन पनि पूर्ण साहित्यिक कृतिमा अपेक्षा गरिनेभन्दा बढी सामान्य र घुमाउरो शैलीको रहेको बताएकी छन् ।
डोल्गानोभका अनुसार यो कुनै साहित्यिक अंशहरूको संग्रह, शिक्षाका लागि प्रयोग गरिएको पाठ वा निजी संग्रह हुन सक्ने सम्भावना बढी छ ।
तर डे क्रेइले पाण्डुलिपिको दुवैपट्टि ‘ओडिसी’को १२औँ पुस्तकका लगभग निरन्तर अंश रहेकाले यो सम्पूर्ण कृतिको प्रतिको हिस्सा हुन सक्ने प्रमाण मिल्ने बताएका छन् ।
उनले कुनै संग्रह भएको सम्भावना सैद्धान्तिक रूपमा स्वीकार गरे पनि त्यस समयका यस्तै उदाहरण आफूलाई थाहा नभएको बताए ।
प्राचीन संसारमा होमरको व्यापक प्रभाव
डोल्गानोभका अनुसार यो खोजले प्राचीन भूमध्यसागरीय क्षेत्रमा होमर कति लोकप्रिय थिए भन्ने पनि देखाउँछ ।
प्राचीन समयमा होमरका कृतिहरू विशेषगरी ग्रीक भाषा सिकाउन विद्यालयमा प्रयोग हुने महत्वपूर्ण पाठ्यसामग्री थिए । ग्रीक भाषा सिकिने भूमध्यसागरीय क्षेत्रभर होमरका रचनाहरू लोकप्रिय रहेको उनको भनाइ छ ।
तर पाण्डुलिपिको वास्तविक समय निर्धारणमा सावधानी अपनाउनुपर्ने उनले बताएकी छन् । प्राचीन पाण्डुलिपिको मिति प्रायः हस्तलेखनजस्ता प्रमाणका आधारमा निर्धारण गरिने भएकाले त्यसमा केही अनिश्चितता रहने उनको भनाइ छ ।
डे क्रेइका अनुसार भने पाण्डुलिपिको कोडेक्स स्वरूप, प्रयोग गरिएको चर्मपत्र, मसीको अवस्था र हस्तलेखनलगायत विभिन्न विशेषताका आधारमा तेस्रो वा चौथो शताब्दीको अनुमान गरिएको हो ।
डोल्गानोभले भने मिति निर्धारणमा पूर्ण निश्चितता नभए पनि यो खोज आफैँमा महत्वपूर्ण रहेको बताएकी छन्।
उनका अनुसार यो यस्तो वस्तु हो, जसलाई कुनै प्राचीन व्यक्तिले आफ्नै हातमा समाते, आफूसँग बोके र पढे । यही कारण आजका पाठकलाई पनि हजारौँ वर्षअघिका पाठकसँग जोड्ने एउटा रोचक माध्यम बनेको उनको भनाइ छ ।










प्रतिक्रिया