रुपन्देही । गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बाढीले बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्कविच्छेद भएको छ ।
कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब ६ बजेको आसपास कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी पुल बगाएको हो ।
स्याङ्जा जोड्ने अन्य कुनै वैकल्पिक सडक नभएकाले पुल बगेसँगै गुल्मीको सदरमुकाम तम्घासबाट समेत साना–ठूला सवारीसाधन मिर्मी हुँदै पोखरा र काठमाडौंसम्म आवतजावत गर्ने मार्ग बन्द भएको वडाध्यक्ष पाण्डेले बताए । जिल्लाको ठूलो नाका जोड्ने पुल बगाएपछि दुवै क्षेत्रका नागरिक प्रभावित भएका छन ।
शनिबारदेखि नै कालीगण्डकीका तीनवटा ढोका खोलिएका छन् । तर, नदीमा पानीको बहाव अत्यन्त ठूलो रहेकाले जोखिम कायमै रहेको पाण्डेले बताए ।
मिर्मी ड्याममाथि पूर्तिघाटतर्फ पानीको बहाव अझै ठूलो रहेको जानकारी प्राप्त भएको उनले बताए ।
कालीगण्डकी नदीमा आएको बाढीका कारण रिडी बजार जलमग्न भएको छ । नदीले जलसतह पार गरेपछि रुरुक्षेत्र गाउँपालिका–१ को रिडी लामाचौरपारी र बजार नजिकका सडकसहित कालीगण्डकी करिडोरका विभिन्न भाग डुबानमा परेका छन् ।
बाढीका कारण रुरुक्षेत्र गाउँपालिका–१ का रिडी व्यवसायी रविलाल पन्थले बगर क्षेत्रमा निर्माण गरिएका पक्की संरचना, मन्दिर, घाटलगायतका संरचना डुबानमा परेको जानकारी दिए ।
जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएका कारण घटनाको विस्तृत विवरण संकलनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।










प्रतिक्रिया