डोल्पा । आज बिहान डाेल्पाकाे जुफाल विमानस्थलमा सीता एयरकाे जहाज दुर्घटना भएको छ। बिहान बाँकेकाे नेपालगञ्ज विमानस्थल देखि डाेल्पाकाे जुफाल विमानस्थलमा यात्रु ल्याएर आएकाे सीता एयरलाइन्सको बिमान अवतरणकाे क्रममा ठुलाे दुर्घटनाबाट जोगिएको हाे।
बिहीबार बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण (Land) गर्ने क्रममा उक्त जहाजको पछाडिको दाहिनेतर्फको टायर फुत्किएर बाहिर निस्किएको हो।
टायर फुत्किए पनि जहाजमा सवार ७ जना विदेशी र ६ जना नेपाली गरी कुल १३ जना यात्रु (११ पुरुष र २ महिला) तथा चालक दलका सदस्यहरू पूर्ण रूपमा सकुशल रहेका छन्। घटनाबाट अन्य कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ।
टायर फुत्किएपछि जहाज अहिले जुफाल विमानस्थलको रनवेमै रोकिएको छ। घटनालगत्तै विमानस्थल सुरक्षा गार्ड जुफाल डोल्पाबाट प्रहरी सहायक निरीक्षक भेषराज केसीको कमान्डमा ७ जनाको प्रहरी टोली उद्धार तथा व्यवस्थापनका लागि खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र रनवेमा रहेको जहाजलाई हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।









प्रतिक्रिया