काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदमा ३३५ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक (जनपद) तथा प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो। माग गरिएका पदमध्ये प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना रहेका छन्। यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेमा ८३, हजाममा १६ र कुचिकारमा २५ जना गरी १२४ जना माग गरिएको छ।
समावेशी प्रावधानअनुसार खुला, अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि समेत सिट छुट्याइएको छ। इच्छुक उम्मेदवारले २०८३ असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त दिन सक्नेछन्। प्रहरी सहायक निरीक्षक पदका लागि अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ORMS) मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। उम्मेदवारले नेपाल प्रहरीको वेबसाइट वा careers.nepalpolice.gov.np मार्फत आवेदन फाराम भर्न सक्नेछन्।
प्रहरी कार्यालय सहयोगी पदका लागि भने तोकिएका कार्यालयमा स्वयम् उपस्थित भएर कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ। दरखास्त संकलन तथा दर्ताका लागि सातै प्रदेशका प्रदेश प्रहरी तालिम केन्द्रहरूलाई सम्पर्क केन्द्र तोकिएको छ। विराटनगर, जनकपुर/राजविराज, दुधौली, पोखरा, बुटवल, सुर्खेत/नेपालगन्ज र दिपायलस्थित तालिम केन्द्रका साथै काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगन्जबाट समेत आवेदनसम्बन्धी प्रक्रिया अघि बढाउन सकिनेछ। दरखास्त, योग्यता, परीक्षा तथा अन्य प्रक्रियासम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
हेर्नूहोस् सूचनाः















प्रतिक्रिया