कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए ।
“गौरा पर्व यहाँको प्रमुख पर्वका अवसरमा पालिकाले एक दिन स्थानीय बिदा गरेको हो”, उनले भने, “बिदामा अत्यावश्यक सेवाबाहेकमा सेवा बन्द रहनेछन् ।” मङ्गलबार पञ्चमीका दिनदेखि विधिवत् रुपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज ब्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदै छन् । गौरापर्वको तेस्रो दिन भोलि ब्रतालु महिलाले गौरादेवीलाई गौरा घरमा भित्र्याएर पूजाआजा गर्ने गर्छन् ।
प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा गरिँदै आएको छ ।
गौराकै अवसरमा सुदूरपश्चिममा देउडा खेलसमेत हुने गरेको छ । महिलाले गौराको ब्रत बस्ने गरेका छन् भने पुरुषले यो सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारी खेल खेल्ने गरेका छन् ।









प्रतिक्रिया