काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
रावलले सार्वजनिक गरेको विवरण अनुसार आफ्नो र परिवारका सदस्यको नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, बहुमूल्य गहना तथा शेयर लगानी रहेको देखिन्छ ।
डेपुटी गभर्नर रावलको श्रीमतीको नाममा भक्तपुरको मध्यपुर ठिमी–२, दिव्यश्वरी प्लानिङमा १ करोड ८० लाख मूल्यको घर रहेको छ । पुरानो घरजग्गा बिक्री तथा बैंक ऋण र स्वआर्जनबाट निर्मित उक्त घरबाहेक उनको अछाम र कैलालीको टीकापुरमा आमाका नाममा पैतृक घरहरू रहेका छन् ।
जग्गातर्फ कैलाली र अछाममा आमा तथा आफ्नो नाममा गरी दुई बिघा र करिब ४५ रोपनीभन्दा बढी पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ । साथै कैलालीको धनगढी उपमहानगरपालिकामा श्रीमतीको नाममा ६ लाख रुपैयाँमा खरिद गरिएको ३३८.६३ वर्ग मिटर र आमाको नाममा १० लाख मूल्यको ३३८.६३ वर्ग मिटर जग्गा रहेको छ ।
रावलसँग २५ तोला सुन, २ किलो चाँदी, एक लाख मूल्यको हिराको औँठी र ४० हजार नगद रहेको छ । उनको आफ्नो नाममा वाणिज्य बैंकहरूमा ११ लाख ४९ हजार २१४ र १४ हजार २३ अमेरिकी डलर मौज्दात छ । जुन पारिश्रमिक तथा वैदेशिक तालिम र भ्रमणबाट आर्जन भएको उल्लेख छ । यस्तै, श्रीमतीको नाममा घरभाडा बापतको ३ लाख ८४ हजार ९२७ बैंक मौज्दात रहेको छ ।
शेयर लगानीतर्फ रावलको आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा ७७० कित्ता साधारण शेयर रहेको छ । श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत् र डिस्टिलरी कम्पनीहरूमा गरी ३१ हजारभन्दा बढी कित्ता शेयर रहेको छ । यसैगरी, छोराछोरीका नाममा पनि बैंक तथा जलविद्युत् कम्पनीहरूमा साधारण शेयर रहेको विवरणमा उल्लेख छ ।
कार्यालयबाट प्राप्त ऋण सुविधा अन्तर्गत राष्ट्र बैंकबाट ५० लाख रुपैयाँसम्मको कर्जा सीमा उपयोग गरिएको विवरणमा उल्लेख छ । सवारी साधनतर्फ छोराको नाममा २०८२ सालमा एक लाख ९५ हजार ४०० मा खरिद गरिएको होण्डा स्कुटर रहेको विवरणमा उल्लेख छ ।










प्रतिक्रिया