नारायणगढ । कुनै बेला मेला, महोत्सव तथा राजनीतिक दलका अधिवेशन र चुनावी मतगणनास्थलका रूपमा चहलपहल हुने भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसर अहिले भीडले भरिएको छ । यो भीड पहिलाकोभन्दा फरक र कारुणिक छ ।
मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर बोकेर चर्को घाममा भोक र तिर्खाको पनि वास्ता नगरी टोलाइरहेका मानिसहरूको एउटै पुकार छ ‘हाम्रा मान्छेको सास भेटिए हुन्थ्यो, कि त लासै पत्ता लागे पनि हुन्थ्यो’ ।
झट्ट हेर्दा र सुन्दा कुनै खराब सपनाजस्तो लाग्ने यो दृश्य वास्तविकता हो । भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको नजिकै रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अहिले शव संरक्षणस्थलका रूपमा प्रयोग गरिएको छ । रसुवा तथा भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र पहिचानका लागि चितवन आइपुगेका आफन्तजनका लागि यो दर्दनाक र पीडादायी क्षण हो ।
नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलन गरिएका २३३ शवमध्ये हालसम्म चार वटाको मात्रै पहिचान भएको छ । बाँकी २२९ शवलाई होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू सड्न थालेका छन् । जसका कारण कतिपय शव अब अनुहार र शारीरिक बनावटका आधारमा पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।
उद्योग सङ्घको परिसरमा वीरगन्ज महानगरपालिका(२२ का अली मोहम्मद मिया आफ्ना २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर लिएर भरतपुरस्थित अस्पताल र शवगृहका ढोकाहरूमा भौँतारिइरहेका छन् । रोजगारीको सिलसिलामा रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन भोटेकोशी र आसपासका क्षेत्रमा आएको बाढीपछि ग्यारेज साहु र अन्य पाँच जना साथीहरूसँगै सम्पर्कविहीन भएका उनले बताए ।
“बिहानैदेखि छोराको खोजीमा छु, कसैले खबर पाए प्रहरीचौकीमा भनिदिए हुन्थ्यो”, भक्कानिँदै अली मोहम्मदले भने, “बाढीमा परेकाहरूको केही अत्तोपत्तो छैन ।” उनले शवगृह र होल्डिङ सेन्टरका सबैतिर हेर्दा पनि छोराको कुनै जानकारी नपाएको बताए । ‘केही जानकारी आए खबर गरिदिनु ल...’ भन्दाभन्दै उहाँको बोली रोकियो र आँसु खसाल्दै भने, “मेरो छोरा यी शवहरूमा छैन, कतै भेटिए खबर गरिदिनुहोला ।”
यो सास्ती र पीडा अली मोहम्मदको मात्र होइन । भोटेकोशी बाढीका कारण देशका विभिन्न स्थानबाट काम तथा भ्रमणका क्रममा पुगेर सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू यतिबेला चितवनको भरतपुरमा शव पहिचानका लागि भौतारिइरहेका छन् ।
धादिङको धुनिबेँसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यका आफ्ना सम्पर्कविहीन नागरिक खोज्न यहाँ आएका छन् । उनका अनुसार धुनिबेँसीका ११ जना डब्बा गाडीका चालक तथा मजदुरहरू रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएका छन् । नगरप्रमुख आचार्यले भने, “सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न सकिने अवस्था छैन । भरतपुर ल्याइएका शवहरू पनि क्षतविक्षत भएकाले तस्बिर हेरेर चिन्न कठिन भइरहेको छ ।”
तराईका जिल्लाहरूबाट मजदुरी गर्न गएका युवाहरूको अवस्था पनि उस्तै कारुणिक छ । सप्तरीको खडक नगरपालिकाका भोला पासवान र डाक्नेश्वरी नगरपालिकाका अक्षकुमार पासवान आफ्ना छोराहरू क्रमशः अखिलेश र निसितको खोजीमा यतिबेला भरतपुरमा भौतारिइरहेका छन् ।
काम गर्न रसुवा पुगेका उनीहरूका छोराको हालसम्म कुनै खबर छैन । शोकमा परेका यी दुई बुबालाई आफ्ना छोराहरू जीवितै भेटिएलान् भन्ने झिनो आशा त छ, तर मनलाई सम्हाल्न नसकेर शव भए पनि फेला पर्छ कि भनेर यहाँसम्म आएका हुन् । भोलाले पीडा पोख्दै भने, “सप्तरीबाट चितवनसम्म आइपुगेँ, तर केही अत्तोपत्तो छैन । कहाँ जाऊँ, के गरूँ ? भित्र छिर्छु, बाहिर राखेको तस्बिर हेर्छु, तर छोराको केही पत्तो पाउन सकेको छैन । अक्षयको पनि उस्तै हाल छ ।”
सप्तरीकै खडक नगरपालिकाबाट त्यहाँ पुगेका एक जनाका आफ्नाले भतिज हराएपछि चितवनको शव पहिचान केन्द्रसम्म आइपुगेको बताए । भतिजसँग भदौ १० गते बिहान ९ः०० बजेतिर टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै उनले भने, “फोनमा बोल्दाबोल्दै अचानक सम्पर्क विच्छेद भयो, त्यसपछि हालसम्म कुनै खबर पाउन सकिएको छैन ।”
त्यसैगरी, बाँकेका करिङ्गा ठाकुर पनि आफ्ना भाइ र भतिजको खोजीमा शव पहिचान केन्द्रअगाडि टोलाइरहेका छन् । भाइ र भतिज कामको सिलसिलामा रसुवा पुगेका र बाढीपछि सम्पर्कविहीन भएका थाहा पाएपछि उनी चितवन आइपुगेका हुन् । उनले पीडा पोख्दै भने, “भाइ र भतिज हराएको खबर पाएपछि आज बिहान मात्र यहाँ आइपुगेको हुँ । यहाँ ल्याइएका शवका तस्बिरहरू हेरेँ, तर क्षतविक्षत भएकाले चिन्नै गाह्रो भयो ।”
खोजीका क्रममा नुवाकोट ककनीका सन्तोष बलामी र टेकबहादुर बलामी पनि शव पहिचान केन्द्रमा भौतारिइरहेका छन् । सन्तोषले भने, “तीन दिनदेखि खोजी गर्दै यहाँसम्म आइपुगेका छौँ । आफन्तहरू कोही कता, कोही कता पुगेर खोजिरहेका छौँ ।” आफन्तको खोजीमा यहाँ आइपुगेका उनीहरू बाहिर राखिएका तस्बिर र भित्रका शवहरूसँग हुलिया मिल्छ कि भनेर नियालिरहेका छन् । तर, क्षतविक्षत बनेका कारुणिक शवहरू हेर्न र तस्बिरबाट पहिचान गर्न उनीहरूलाई अत्यन्तै मुस्किल परेको छ । फोटो हेर्दा केही हुलिया मिलेजस्तो लागेरभित्र छिर्नुभएका उहाँहरू शवमा आफन्तको हुलिया र शरीरमा भएको ट्याटु खोज्दै टोलाउन बाध्य छन्।
यसैगरी, लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३१ वर्षीय सिभिल इन्जिनियर अभिषेक आचार्यका काका गणेशप्रसाद बरालले सुरुङ (टनेल) भित्रै मजदुरहरू थुनिएको हुन सक्ने आशङ्का व्यक्त गरे । पोखराबाट यहाँ आएका बरालले मौसम प्रतिकूल भए पनि उद्धार कार्यलाई तीव्र बनाउन र जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली चुस्त राख्न माग गरे । उनले भने, “भदौ १० गते बिहान ८ः०० बजेसम्म बाबु परिवारको सम्पर्कमा थियो । ‘म खाजा खाएर कामतिर जान लागेँ’ भनेर भनेको थियो । तर त्यसपछि हालसम्म कुनै सम्पर्क हुन सकेको छैन ।”
उनीसँगै पोखराबाट आएका दामोदर पौडेलले पनि इन्जिनियर आचार्य सम्पर्कमा नआएको बताउँदै जोखिमयुक्त सुरुङहरूमा काम गर्ने मजदुर तथा कर्मचारीहरूलाई पूर्वसूचना दिने प्रणाली र सुरक्षा तालिमको उचित व्यवस्था हुनुपर्नेमा जोड दिए ।
नेपाली नागरिक मात्र नभई चीनतर्फको मानसरोवर यात्राका लागि टिमुरे पुगेका भारतीय नागरिक रुबिका डेभिड र प्रेरणा कालेसमेत भदौ १० गते बिहानदेखि सम्पर्कविहीन रहेका उहाँहरूका नेपाली साथी प्रभात ढुङ्गानाले जानकारी दिए । उनले भने, “म मेरा साथीहरूका परिवारको खोजीका लागि यहाँ आएको हुँ । उहाँहरू मुम्बईबाट मानसरोवर यात्राका लागि नेपाल हुँदै आउनुभएको थियो । भदौ १० गते बिहान ७ः३० बजे चिनियाँ इमिग्रेसनका लागि हिँड्यौँ भनेर खबर आएपछि उहाँहरूसँग कुनै सम्पर्क भएको छैन । खबर पाएपछि म यहाँ आएर शवगृह र अस्पतालहरूमा हेर्दै, बुझ्दै छु ।”
नुवाकोटबाट बुहारी नाता पर्ने हराएपछि चितवनकी सोविता तिमिल्सिना पनि शव पहिचान केन्द्रमा भौतारिइरहेकी छिन् । उनले भनिन्, “त्रिशूली नदीनजिकै खेत गोड्ने क्रममा बाढी आएर बुहारी हराएपछि हामीले खोज्न थालेका हौँ । अहिलेसम्म कुनै सम्पर्क छैन । अब यहाँ राखिएका शव र तस्बिरहरू हेरेर केही पत्तो लाग्छ कि भन्ने आशाले आएका हौँ ।”
नदी किनारमा शवहरू फेला पर्ने क्रम जारी रहे पनि अधिकांश शवको अनुहार र शारीरिक बनावट बिग्रिएकाले पहिचानमा गम्भीर समस्या थपिएको छ । उद्धार र खोजीका लागि स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाहरूले पनि यस कार्यमा सहयोग गरिरहेका छन् ।
बाढीमा परेकाहरूको शव धेरै दिनसम्म रहँदा पहिचानको समस्या झन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिसँगै आफ्ना प्रियजन गुमाएका र बेपत्ता भएका परिवारको यो आँसु र पर्खाइले भरतपुरको वातावरणलाई पूर्ण रूपमा स्तब्ध बनाएको छ ।










प्रतिक्रिया