गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि

मध्यविन्दु । गण्डकी प्रदेशको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

तथ्याङ्कअनुसार नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्पदंश भएको थियो ।

यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटना बढी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए । उनका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

“सर्पदंशपछि बिरामीलाई सकेसम्म शान्त राखी तुरुन्त उपचारका लागि अस्पताल पु¥याउनुपर्छ”, उनले भने, “समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ । वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता लगाउने, राति टर्चको प्रयोग गर्ने र घर वरिपरिको झाडी सफा राख्नेजस्ता सावधानी अपनाउन आवश्यक छ ।”

गण्डकी प्रदेशमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०पछि चालु आवमा तनहुँमा २७९, कास्कीमा १८७, स्याङ्जामा १७७, लमजुङमा ९३, म्याग्दीमा ५७, गोरखामा ४६, बागलुङमा ३८ र पर्वतमा १६ सर्पदंशका घटना दर्ता भएका छन् । मनाङ र मुस्ताङमा भने कुनै घटना दर्ता भएका छैनन् ।

प्रदेशस्तरको तथ्याङ्क हेर्दा पनि सर्पदंशका घटना क्रमशः घट्दो देखिएको छ । आव २०८२÷८३ मा गण्डकी प्रदेशभर एक हजार ५६० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये ९२ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

अघिल्लो आव २०८१÷८२ मा प्रदेशभर दुई हजार २०१ सर्पदंशका घटना र १८६ विषालु सर्पदंशका बिरामी दर्ता भएका थिए । त्यस्तै आव २०८०÷८१ मा एक हजार ८७६, २०७९÷८० मा एक हजार ७२४ र २०७८÷७९ मा एक हजार ४४१ सर्पदंशका घटना अभिलेख भएका थिए ।

वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले सर्पदंशबाट बच्न व्यक्तिगत सावधानी अपनाउनुका साथै सर्पले टोकेपछि ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्नु नै ज्यान जोगाउने सबैभन्दा भरपर्दो उपाय भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँले बताए ।