पार्टी पुन:गठनसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको निर्वाचन समीक्षा तथा पुनःगठनका लागि गठित कार्यदलको बैठक सम्पन्न गर्दै पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव तथा महासचिव शंकर पोखरेललाई दिएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनःगठनका लागि गठित कार्यदलको बैठकपछि महासचिव शंकर पोखरेलले निर्णय सार्वजनिक गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने, पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठनको कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

बैठकले देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। ती कार्यक्रमबाट प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार गरिने जनाइएको छ ।

बैठकले सुझाव सङ्कलन कार्यक्रमको व्यवस्थापन गर्ने सम्बन्धित कमिटी तथा कार्यक्रममा सहभागी भएर महत्त्वपूर्ण सुझाव दिने सम्पूर्ण नेता–कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेको छ।

यस्तै, बैठकले सुझाव सङ्कलन कार्यक्रमकै क्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ। एमालेले पौडेलको तत्काल रिहाइको मागसमेत गरेको छ ।

बैठकले कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक रामबहादुर थापा र सदस्य–सचिव शंकर पोखरेललाई प्रदान गरेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमा देशभरबाट प्राप्त सुझाव, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि आवश्यक वैचारिक, राजनीतिक र सङ्गठनात्मक कार्ययोजना समेटिने जनाइएको छ।

एमालेले तयार हुने प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।