जनकपुरधाम । सेवाग्राहीमाथि कार्यालय परिसरमा कुटपिट गरेको आराेपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन् ।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद चर्किएपछि दुवै पक्षबीच हातपात भएको थियो । सार्वजनिक भएको भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को रहेको बताइएको छ।
निमित्त कार्यालय प्रमुख आचार्यका अनुसार घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा हुन्। उनले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएका थिए । कार्यालयका कर्मचारीसँग धाकधम्की र गालीगलौज गरेपछि विवाद उत्पन्न भएको र त्यसक्रममा हातपात भएको आचार्यको दाबी छ।
यातायात व्यवस्था कार्यालय बारा परिसरमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत घटनाप्रति चासो देखाएको छ।
प्रारम्भिक जानकारीअनुसार उक्त विवाद त्यसबेलै मिलिसकेको भए पनि घटनाको भिडियो गत शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको हो।










प्रतिक्रिया