प्रधानमन्त्री बालेनलाई गाली गर्ने राेशन जेल चलान

विराटनगर । युट्युव र सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलक्षित अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोख्रेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पाँचथर फाल्गुनन्द गाउँपालिका-७ दोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो।

न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युट्युबमा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।