विराटनगर। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–१५ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अस्थायी चेकपोस्ट हटाउन निर्देशन दिएका छन्। सीमा क्षेत्रमा रहेका सुरक्षा चेकपोस्टहरूको निरीक्षण र अनुगमनका क्रममा झापा पुगेका गृहमन्त्री गुरुङले तत्काल पोस्ट हटाउन निर्देशन दिएका हुन् ।
तीन दिनअघि विराटनगर आएका उनी मोरङ, सुनसरी र धनकुटाको अनुगमन सकेर आज झापा पुगेका हुन्। झापा पुगेका गृहमन्त्री गुरुङले जोरसिमलमा रहेको पोस्टमा सुरक्षाकर्मीहरू आधारभूत सुविधाविहीन अवस्थामा रहेको पाएपछि हटाउन निर्देशन दिएका हुन्। जोरसिमलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त पोस्ट रहेको छ। सुरक्षाकर्मीहरू जस्ताको टहरोमा बसेको देखेपछि उनले यस्तो कडा निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूले सो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको उपस्थिति अनिवार्य रहेको बताएका थिए। झापाका सुरक्षा निकायका प्रमुखहरूले त्यहाँ बस्ने सुरक्षाकर्मीका लागि खानेपानी र शौचालयको समेत अभाव रहेको बाध्यता सुनाएका थिए। सुरक्षा अधिकारीहरूको कुरा सुनेपछि गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको यस्तो बिजोग अवस्था आफूलाई सह्य नहुने भन्दै तत्कालै सो जीर्ण संरचना हटाउन आदेश दिए।
उनले भने, “यो संरचना नराख्नुस्, आजै यहाँबाट निकाल्नुस् ।” उनले जस्ताको टहरोतर्फ इसारा गर्दै थपे, “सुरक्षाका लागि बरु चेकपोस्टलाई अगाडि बढाएर व्यवस्थित बनाउनुस्। बोर्डर एरियामा टाइट (कडाइ) गर्नुस् तर सुरक्षाकर्मीलाई यस्तो अवस्थामा राख्न मिल्दैन।”
गृहमन्त्री गुरुङले सुरक्षा पोस्टलाई थप व्यवस्थित र सुविधायुक्त बनाउन स्थानीय वडा र मेचीनगरपालिकाले समेत चासो नदेखाएको प्रति असन्तुष्टि जनाए। उनले सुरक्षाकर्मीका लागि आवश्यक न्यूनतम पूर्वाधार र बजेट व्यवस्थापनका लागि स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने र यसमा मन्त्रालयले आवश्यक समन्वय गर्ने स्पष्ट पारे।
स्थलगत अनुगमन र निर्देशनपछि गृहमन्त्रीसहितको टोलीले सो क्षेत्रको सीमा सुरक्षा र चेकजाँचलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनेबारे सुरक्षा प्रमुखहरूसँग छलफल अघि बढाएको छ। अनुगमनका क्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला तहका प्रमुखहरू सहभागी थिए।










प्रतिक्रिया