एमाले उपाध्यक्ष पाैडेललाई विभागमा उपस्थित गराईयाे

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्तिशुद्धीकरण विभागमा उपस्थित गराईएकाे छ ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई काठमाडौं ल्याएर केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग उपस्थित गराएको हो । पौडेललाई हिजो प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ । पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । त्यहीक्रममा उनी पक्राउ परेका थिए ।

उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो । पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले भौसेपाटीस्थित उनको निवासमा पनि छापा मारेको थियो ।