जनताबाट टुटेका कार्यकर्ताकाे भरमा चुनाबमा जादा पराजय व्यहाेर्नुपर्याे: महासचिव पाेखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय बेहोर्नुपरेको बताएका छन् ।

मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयाेजित  ‘जनताको बहुदलीय जनवाद र युवा विषयक’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले  भने, ‘गत निर्वाचनमा बेहाेरेकाे पराजयकाे समीक्षा आवश्यक छ । जनतासँग भिजेका भन्दा जनतासँग टुटेका कार्यकर्ताकाे भरमा चुनावमा जाँदा हामीले पराजय बेहाेरेकाे यथार्थता भुल्नुहुँदैन ।’

एमाले जनतामुखीभन्दा सत्तामुखी बन्दा कमजोर बनेको बताउँदै महासचिव पाेखरेलले भने, ‘जबजकाे नीति कार्यान्वयनमा समस्या भयो । जनतासँग भन्दा सत्तासँग नजिक हुने परिपाटीकाे विकास भयाे । यसैका कारण दिनप्रतिदिन पार्टी कमजाेर हुँदै गएकाे छ । यसलाई नसच्याउँदासम्म पार्टी बलियाे हुँदैन ।’

पार्टीले जनताका बीचमा जाने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले जनभावना बुझ्ने र समाजसँग घुलमिल हुने कार्यकर्ता तयार गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले पपुलिज्मको विकल्प वैचारिक दृष्टिकोणयुक्त युवाशक्ति भएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि युवाहरू स्पष्ट दृष्टिकोणसहित अघि आउनुपर्ने बताए । उनले पपुलिज्मको आडमा भित्रिँदै गरेको अधिनायकवादलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा युवाहरुले नै परास्त गर्नुपर्ने धारणा राखे ।

सूचना प्रविधिको क्षेत्रमा बढ्दो ‘गेमिङ प्रोजेक्ट’ बाट युवाहरूलाई मुक्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सूचना र प्रविधिका माध्यमबाट मार्क्सवाद र अतिरिक्त मूल्यको सिद्धान्तलाई नयाँ ढंगले व्याख्या गर्ने जिम्मेवारी युवाकै काँधमा आएको बताए । सूचना प्रविधिमा सक्रिय युवाहरूले त्यसैको प्रयोग गरेर मार्क्सवाद र त्यसका आयामबारे बहस सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

‘विचारविहीन पपुलिष्ट युवा जमातले पूँजीवादको रक्षा मात्र गर्छ, समाजवादसम्म पुग्न सक्दैन’, उनले भने, ‘वैचारिक आन्दोलनले मात्रै पपुलिष्ट प्रवृत्तिलाई चुनौती दिन सक्छ ।’

उनले पपुलिष्ट शक्तिहरूले राष्ट्रिय शक्ति निर्माण गरे पनि मुलुकका समस्या समाधान गर्न नसकेको दाबी गर्दै निराशाका कारण त्यस्ता शक्ति उदाएको भए पनि लामो समय टिक्न नसक्ने जिकिर गरे । गएको दशकमा मुलुकको विकास र समृद्धिको नेतृत्व एमाले र जनताको बहुदलीय जनवादले गरेको उनको दाबी थियो ।

महासचिव पोखरेलले अहिलेका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणले मुलुक निर्माणको दृष्टिकोण नदेखिएको टिप्पणी गर्दै सुनमा लगानी गर्नु उत्पादनमुखी सोच नभएको बताए ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकमा पैँसा थन्किने क्रम बढेको उल्लेख गर्दै उनले लगानीको वातावरण खस्किँदै गएको बताए ।

उनले विगतमा निर्यात वृद्धि भइरहे पनि अहिले आयात बढ्ने र निर्यात घट्ने क्रम बढिरहेको भन्दै युवाहरू मुलुकभित्र लगानी गर्नुभन्दा विदेश पलायन हुने अवस्था सिर्जना भएको धारणा राखे ।

सरकारको प्रारम्भिक कामकारबाहीप्रति टिप्पणी गर्दै महासचिव पोखरेलले सरकारको पहिलो कदम नै बेरोजगारी बढाउने दिशाउन्मुख देखिएको बताए । उनले सुकुम्वासी बस्ती हटाउने कार्यले थप आर्थिक भार सिर्जना गरी पलायनलाई प्रोत्साहन गरेको दाबी गरे ।

उनले जनताको बहुदलीय जनवाद कार्यक्रम मात्र नभई सिद्धान्तसमेत भएको उल्लेख गर्दै आफू र एमाले नेता प्रदीप ज्ञवालीले पार्टीभित्र यस विषयमा लामो बहस गरेको स्मरण गरे । नवौं महाधिवेशनबाट जबजलाई सिद्धान्तका रूपमा स्थापित गर्न सफलता प्राप्त भएको बताउँदै उनले यसलाई नेपाली राजनीतिसँग जोड्ने अभियान अझै जारी रहेको उल्लेख गरे ।

महासचिव पोखरेलले ‘जेनजी आन्दोलन’ प्रति एमालेले लिएको दृष्टिकोणप्रति जनताले विश्वास नगरेको स्वीकार गर्दै त्यसकै परिणामस्वरूप पार्टीले गत निर्वाचनमा पराजय बेहोरेको बताए ।