काठमाडौं । नेकपा संयुक्तले असफलताको बाटोमा नजान आफ्ना कमजोरी सुधार्न वालेन सरकारको ध्यानाकर्षण गराएको छ ।
आज माइतीघरमा खुला पत्रकार सम्मेलन गर्दै कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताको अपेक्षा गरेको भन्दै आफ्ना कमजोरी सुधार गर्न सुझाएका हुन्।
सरकार बनेको डेढ महिना पनि नबित्दै नेपाली नागरिकलाई झस्काएको उनको टिप्पणी छ । सुकुमबासी व्यवस्थापनको नाममा समाजको सबैभन्दा कमजोर वर्गप्रति गरिएको व्यवहारमा उनले आपत्ति जनाए ।
घनश्यामले भने- यो सरकारले आफ्ना कमजोरीहरू सुधारोस् । हामी यो सरकार उल्ट्याउनुपर्छ भनेर सडकमा निस्किएका होइनौँ, तर तपाईँसँग धेरै ठूलो सामर्थ्य छ ,समय पनि तपाईँसँग छ नहतारिनुस्, नहडबडाउनुहोस्, तुजुक नदेखाउनुहोस् । यस्तो तुजुक हिजोका धेरै पपुलर र लोकप्रियसाथ आएका मान्छे देखेका/व्यहोरेका हौँ । हामीले शक्तिको तुजुक देखाउने सरकार खोजेका होइनौँ । यो बहुमतलाई लोकतान्त्रिक स्थिरताका साथ मुलुकलाई समृद्धिका लागि अघि बढाउन योगदान गर्नुस् जनता तपाईँका साथमा छन् । यदि यसबाट तपाईँ विचलित हुनुभयो, जनता तपाईँबाट डराउने दिन आयो भने यसको परिणाम राम्रो हुँदैन ।
ट्रे्ड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
अध्यादेश ल्याएर सरकारको बहुमतको गरिमा घटाउने काम गरेको उनको भनाइ छ । नेपालको कालापानी-लिपुलेक क्षेत्रका विषयमा फराकिलो राष्ट्रिय सहमति र बलियो एकतामा आधारित पहलकदमी लिन पनि भुसालले सुझाव दिए ।










प्रतिक्रिया