उद्दाेगीहरुलाई नडराउन रविकाे आग्रह

ललितपुर । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो कार्यशैली र नीतिगत कडाइका कारण सशंकित बनेको निजी क्षेत्रलाई आश्वस्त पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पहल लिएका छन्। विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउ र भन्सार विन्दुमा एमआरपी स्टिकर अनिवार्य गर्ने नियममा देखिएको कठोरताले व्यवसायीहरूमा त्रास फैलिएको भन्दै लामिछानेले उनीहरूसँग विशेष संवाद सुरु गरेका हुन्।

आइतबार ललितपुरस्थित हिमालयन होटलमा आयोजित छलफलमा सभापति लामिछानेले आगामी दिनमा व्यक्तिको तजबिजमा नभई नीतिगत रूपमै उद्योगी व्यवसायीलाई संरक्षण गर्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रको मनोबल खस्किएको महसुस गरी आफूले संवादको पहल गरेको बताउँदै व्यवसायीहरू आत्तिनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे। विगतका समस्याहरूको समाधान खोज्दै नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको उनको दाबी छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यवसायीलाई विनाकारण धरपकड नगर्ने आश्वासन दिए तापनि गोल्छाको पक्राउले निजी क्षेत्रमा सरकारप्रति अविश्वास पैदा भएको थियो। यस विषयमा प्रष्टीकरण दिँदै लामिछानेले सरकार सुशासन र आर्थिक वृद्धिको नयाँ दिशामा जान खोज्दा केही असहजता देखिएको बताए। उनले केही सिमित पात्रहरूले अर्थतन्त्र नियन्त्रणमा लिन खोजेका कारण सरकार निर्मम हुनुपरेको उल्लेख गर्दै इमानदार व्यवसायीहरूले कुनै पनि प्रकारको दुःख झेल्नु नपर्ने जिकिर गरे।

त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजीक्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै सहज रूपमा काम गर्न दिन आग्रह गरे । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजीक्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो’ उनले भने । अध्यक्ष ढकालले निजीक्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका कार्यवहाक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । निजीक्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा उद्योगीहरू हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, सशिकान्त अग्रवाल, वरुण चौधरीलगायत उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।