काठमाडौं । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ । विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहनुभएको बताइएको छ ।
कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहीत छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् जुन दिन नेपालमा जेनजी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो । ‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध पनि भेटिन्छ ।
निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह हो ।
गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उनको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कवितासङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कवितासङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भएछ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् । पुख्र्याैली घर तार्केश्वर÷सामरी÷त्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।










प्रतिक्रिया