मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो ।

यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ । यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति ९सीएमसी०हरुले शुल्क लिएर यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिए । कार्यालयहरुले यार्सा सङ्कलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । सङ्कलनका क्रममा हुनसक्ने जोखिम, चोरी शिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ । 

थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा सङ्कलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए । उनका अनुुसार स्थानीयलाई रु तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ । 

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा सङ्कलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् । 

थासाङको बतासेमा पनि सङ्कलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई रु तीन हजार शुल्क तोकेको छ । 

थासाङको कुञ्जो लेकमा पनि यार्सा सङ्कलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा सङ्कलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिए ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा सङ्कलनका लागि रु चार हजार र  सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति रु छ हजार शुल्क तोकेको छ । 

वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए । 

यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा रु तीन हजार १०० रुपैयाँ राजश्व बुझाउनु पर्ने नियम छ ।