शेखर गाेल्छा पक्राउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज उनलाई पक्राउ गरेको हाे ।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शेखर गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिइएको हो ।

ब्यूरोले काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई आजै नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको र हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ५९ वर्षीय गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोप लागेको छ ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।

भट्टलाई गैरकानूनी काम गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रि(इन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई कारबाहीको दायरामा ल्याउन धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनले सिफारिस गरेको थियो ।