गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु(याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए ।
“पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ”, उनले भने, “बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्वीप अप्रेशन सञ्चालन गरिएको थियो ।”
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेशन’ चलाएको हो ।
गए राति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलाहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।









प्रतिक्रिया