विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ % छुट दिन निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागले हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई पत्र पठाउँदै विद्यार्थीहरुलाई दिइँदै आएको सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हाे ।

इन्धनको मूल्य बढेसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको छ ।

सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुव्र्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको हो ।

विभागले पठाएको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण गराइएको छ । त्यसदिन विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने भएको सहमति अनुसार विद्यार्थीहरूले गाडी भाडामा सहुलियत पाउँदै आएका छन् ।

यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।