दाङ विकासको ‘दोस्रो चरण’ : शंकर पोखरेलसँग विशेष अन्तर्वार्ता

नेपालमा संघीय शासन व्यवस्था कार्यान्वयनपछि प्रदेश संरचना निर्माण, स्थायी राजधानी निर्धारण, पूर्वाधार विस्तार, स्वास्थ्य सेवा सुदृढीकरण र प्राविधिक शिक्षाको संस्थागत विकासजस्ता दीर्घकालीन निर्णयमार्फत विकास केन्द्रित नेतृत्वका रूपमा स्थापित भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल यतिबेला दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर-२ बाट उम्मेदवार छन् ।

प्रदेश सरकारको नेतृत्व सम्हाल्दा सुरु गरिएका विकासका संरचनात्मक योजनालाई संघीय तहबाट निरन्तरता दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् । चुनाव, विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र दाङको दीर्घकालीन रूपान्तरणमा केन्द्रित रही उनीसँग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । -सम्पादक

तपाई प्रदेश नेतृत्वबाट संघीय संसदतर्फ आउन खोज्नुको मुख्य उद्देश्य के हो ? यो राजनीतिक उन्नयन हो कि विकासको रणनीतिक निरन्तरता ?

यो राजनीतिक उन्नयन होइन, विकासको निरन्तरता सुनिश्चित गर्ने प्रयास हो । प्रदेश सरकारको नेतृत्व गर्दा हामीले विकासको आधारभूत संरचना निर्माण गर्‍यौ । प्रशासनिक संरचना, राजधानी, सडक, स्वास्थ्य संस्था, शिक्षा विस्तार र दीर्घकालीन पूर्वाधार योजना । तर प्रदेश सरकारको क्षमता सीमित हुन्छ । ती योजनालाई दीर्घकालीन रूपमा स्थायित्व दिन संघीय नीति, बजेट र समन्वय आवश्यक हुन्छ ।
दाङमा सुरु भएको परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा रूपान्तरण गर्न संघीय संसदको भूमिका निर्णायक हुन्छ । त्यसैले मेरो उम्मेदवारी विकासको दोस्रो चरण सुरु गर्ने अभियान हो ।

प्रदेशको स्थायी राजधानी दाङमा तोक्ने निर्णयलाई ऐतिहासिक मानिन्छ । त्यो निर्णय किन आवश्यक ठान्नुभयो ?

राजधानी निर्धारण कुनै भावनात्मक विषय होइन, दीर्घकालीन रणनीतिक निर्णय हो । प्रदेशको भौगोलिक सन्तुलन, प्रशासनिक पहुँच, शहरी विस्तारको सम्भावना र आर्थिक विकासको केन्द्र कहाँ बन्न सक्छ भन्ने आधारमा निर्णय गरिएको थियो । लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रका रूपमा देउखुरी उपत्यका चयन गर्नु भनेको प्रदेशको विकासको केन्द्र निर्धारण गर्नु हो । राजधानीले प्रशासन, सेवा, लगानी, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिलाई केन्द्रित गर्छ । दीर्घकालीन विकासको गति दिन यस्तो निर्णय अपरिहार्य थियो ।

प्रदेशको राजधानी घोषणा भएपछि दाङमा देखिएको ठोस परिवर्तन के हो ?

राजधानी बनेपछि प्रशासनिक गतिविधि बढ्यो, सेवा विस्तार भयो, निजी लगानी आकर्षित भयो । सरकारी कार्यालय स्थापना, सडक विस्तार, आवास विकास, बैंकिङ सेवा, शैक्षिक संस्था र व्यवसायिक गतिविधि तीव्र भएका छन् । सबैभन्दा महत्वपूर्ण परिवर्तन मानसिकतामा आएको छ । दाङ अब केवल क्षेत्रीय केन्द्र होइन, प्रशासनिक र आर्थिक सम्भावना भएको विकास केन्द्रका रूपमा स्थापित हुँदैछ ।

तपाईंको पहलमा निर्माण भइरहेको घोराही-तुलसीपुर चारलेन सडकलाई विकासको मेरुदण्ड भनिन्छ । यसको वास्तविक महत्व के हो ?

यातायात पूर्वाधार आर्थिक गतिविधिको आधार हो । चारलेन सडकले यात्रा सहज बनाउने मात्र होइन, व्यापार लागत घटाउने, बजार पहुँच बढाउने र शहरी विस्तारलाई व्यवस्थित बनाउने काम गर्छ ।
यो सडक आर्थिक करिडोरको रूपमा विकसित हुनेछ । उद्योग, सेवा क्षेत्र, पर्यटन र लगानी प्रवाह सबै यातायात पूर्वाधारसँग जोडिएका हुन्छन् ।
पूर्वाधार बनेपछि मात्र औद्योगिक विस्तार सम्भव हुन्छ । त्यसैले यो परियोजना दीर्घकालीन आर्थिक रूपान्तरणको आधार हो ।

चारलेन सडकसँगै औद्योगिक विकास र रोजगारी विस्तारका लागि तपाईंको रणनीति के छ ?

पूर्वाधार निर्माण पहिलो चरण हो । औद्योगिक वातावरण निर्माण दोस्रो चरण हो । औद्योगिक क्षेत्र विकास, कृषि प्रशोधन उद्योग स्थापना, लगानी प्रोत्साहन, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था र साना तथा मझौला उद्यम प्रवर्द्धन-यी सबै समानान्तर रूपमा अघि बढाइएका छन् ।
दाङको कृषि सम्भावना ठूलो भएकाले उत्पादनलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने उद्योग विकास दीर्घकालीन आर्थिक समाधान हो । रोजगारी सिर्जना उद्योग र उद्यम विस्तारबाटै सम्भव हुन्छ ।

दाङमा स्थापना प्रक्रियामा रहेको इन्जिनियरिङ कलेज र प्राविधिक शिक्षा विस्तार किन महत्वपूर्ण छ ?

विकासका लागि प्राविधिक जनशक्ति आवश्यक हुन्छ । स्थानीय विद्यार्थीलाई न्यूनतम लगानीमा उच्च प्राविधिक शिक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो । इन्जिनियरिङ कलेज स्थापना भनेको स्थानीय स्तरमै ज्ञान उत्पादन गर्ने आधार तयार गर्नु हो । अध्ययन, अनुसन्धान र विकास परियोजनाबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ । यसले दाङलाई प्राविधिक शिक्षा केन्द्र बनाउने मात्र होइन, स्थानीय विकासमा दक्ष जनशक्ति उपलब्ध गराउँछ ।

कृत्रिम जलाशय निर्माण योजना र जल व्यवस्थापनलाई तपाईले किन दीर्घकालीन प्राथमिकता दिनुभयो ?

जल व्यवस्थापन भविष्यको प्रमुख चुनौती हो । कृषि, खानेपानी, वातावरणीय सन्तुलन-सबै पानीसँग जोडिएका छन् । कृत्रिम जलाशयले सिँचाइ विस्तार गर्छ, पानी संरक्षण गर्छ, भू-जल सन्तुलन कायम राख्छ र पर्यटन सम्भावना पनि बढाउँछ । यो परियोजना खाद्य सुरक्षा, कृषि उत्पादन वृद्धि र पर्यावरणीय स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण छ ।

स्वास्थ्य क्षेत्रमा विशेष गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तारलाई तपाईंको महत्वपूर्ण पहल मानिन्छ । यसको उद्देश्य के हो ?

हाम्रो उद्देश्य केवल अस्पताल बनाउने मात्रै थिएन, क्षेत्रीय स्तरको स्वास्थ्य,शिक्षा र अनुसन्धान केन्द्र निर्माण गर्ने थियो । पूर्वाधार विस्तार, आधुनिक उपकरण, विशेषज्ञ सेवा र स्वास्थ्य शिक्षा विकासमार्फत यस संस्थालाई सुदृढ गरिएको छ ।
अब यो संस्था उपचार सेवा मात्र होइन, स्वास्थ्य जनशक्ति उत्पादन र अनुसन्धानको केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ । यसले दाङ मात्र होइन आसपासका जिल्लाका नागरिकलाई पनि उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

दाङलाई दीर्घकालीन रूपमा आर्थिक, शहरी र सामाजिक दृष्टिले कस्तो क्षेत्र बनाउने लक्ष्य छ ?

दाङलाई योजनाबद्ध शहरीकरण, औद्योगिक विस्तार, आधुनिक कृषि प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षा भएको आत्मनिर्भर क्षेत्र बनाउने मेरो लक्ष्य छ । पूर्वाधार विकास, उत्पादन विस्तार र सेवा क्षेत्र सुदृढीकरण-यी तीन आधारमा दाङको आर्थिक रूपान्तरण सम्भव हुन्छ । स्थानीय रोजगारी सिर्जना, युवा उद्यमशीलता र वातावरणीय सन्तुलनलाई समान प्राथमिकता दिइनेछ ।

चुनाव नजिकिदै छ,मतदाताका लागि तपाईंको सन्देश के छ ?

दाङमा परिवर्तनको आधार तयार भइसकेको
छ । म लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा राजधानी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र दीर्घकालीन विकासका संरचना निर्माण भइसकेका छन् । अब यी योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक छ ।
यो चुनाव व्यक्तिको मात्र होइन, दाङको भविष्यको निर्णय हो । विकासलाई संस्थागत बनाउने प्रतिबद्धतासहित म जनतामाझ आएको छु । म तपाई सबैसँग एक/एक मत माग्छु । अहिले कसैको लहलहैमा लागेर मत अन्यत्र दिनुभयो भने ५ वर्ष पछुताउनुको विकल्प हुँदैन् । त्यसैले मलाई भारी मतले जिताउन सुर्य चिन्हमा मतदान गरिदिनुस् भन्ने विनम्र अनुरोध छ ।