काठमाडाै ।नेपालमा पहिलाेपटक नेपालीमा मङ्कीपक्स देखा परेकाे छ । ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।
साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा हिजाे मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिए । यसअघि सन् २०२३ को जुनमा नेपालमा पहिलो पटक एक विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो।
सङ्क्रमण भएका ती पुरुषको काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ‘आइसोलेशन’मा राखी उपचार भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार काठमाण्डूको एउटा निजी अस्पतालले रिफर गरेपछि उनी बिहीवार नै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल गएका थिए। यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।
‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमित मुसा र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिबाट यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन्। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ।
यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ।यो रोग प्रायः उष्णतटीय वर्षा वन नजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ।
यो क्षेत्रमा बर्सेनि हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ। एमपक्सबाट जोगिन सङ्क्रमितको थुकको छिटा, नाक, मुख, आँखा वा खुला छालामा नपरोस् भनेर सतर्क रहनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन बताउँछन्।उनका अनुसार फुटेको छाला र श्वासनलीबाट पनि यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
याे राेग देखा परेपछि मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
प्रतिक्रिया