अमेरिका चार नेपाली मृत फेला, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं । अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एकै घरका दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको स्थानीय प्रहरीलाई उदृत गर्दै सीएनएनले जनाएको छ । प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ।

मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो । समाचारमा जनाइएअनुसार घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको समाचारमा उल्लेख छ । उनीहरुको परिचय खुलेको छैन ।

घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहेको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ । तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन ।

एनबीसी वासिङ्टन ‘न्यूज ४’सँग छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेको बताएका छन् । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।