काेशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनशन

काठमाडाै । काेशीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता केदार कार्कीले आजबाट विराटनगरमा सरकारविरूद्ध अनशन सुरू गरेका छन्।

आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशसभा नजिकै अनशन थालेका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपास निषेधाज्ञा लगाए पनि त्यस आसपास नै उनी अनसनमा बसेका छन्।

आफ्ना समर्थकहरूसहित अनशन सुरू गरेका कार्कीले आफू मर्न तयार रहेको तर बालकालिकाको नि:शुल्क उपचार योजना कटौती गर्न नदिने बताएका छन्।

‘प्रदेशका बालबालिकाको नि:शुल्क उपचार योजना कटौती गरेर मुख्यमन्त्रीले जनविरोधी हर्कत गर्नुभएको छ,’ उनले अनशन सुरू गर्दै भने, ‘जनताका छोराछोरी उपचार नपाएर मर्ने, हामी नेता र सांसदहरू भने सुविधा थपिथपि लिने असंगत अवस्था टुलुटुलु हेरेर बस्न सक्ने अवस्था हुँदैन।’ 

पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरूद्ध अनशन बस्ने चेतावनी दिएका थिए। तर, मुख्यमन्त्री कार्कीले केदार कार्कीको दल कांग्रेससँग छलफल गरे पनि उनीसँग भने कुनै कुरा नगरेको केदार कार्कीको सचिवालयले जनाएको छ।

हिजाे(सोमबार) पत्रकारहरूले मुख्यमन्त्री कार्कीसँग प्रदेशसभामा यसबारे सोधेका थिए। तर, मुख्यमन्त्री कार्कीले यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। एमाले नेताहरूले भने केदार कार्कीको व्यक्तिगत कुरालाई लिएर आफूहरू गम्भीर नरहेको बताउँदै आएका छन्।

यसपछि उनी अनशनमा बसेका हुन् ।