नवालक छोरा अभिराजमाथि भएको कुटपिट प्रकरणमा आमाको प्रहरीमा उजुरी, न्यायको खोजीमा दौडधुप

प्रेमचन्द्र झा
रौतहट । रौतहटकी संगीता कुमारी महतोले आफ्ना १४ वर्षीय छोरा अभिराज महतोमाथि शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै मकवानपुरस्थित ब्रेन बिल्डर एजुकेसन होमका विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बालबालिकासँग सम्बन्धित कसुरमा मुद्दा दायर गरेकी हुन् ।

संगीताका अनुसार उनका छोरा अभिराजलाई सो होस्टलमा रहँदा होमका बाडेन (होस्टल प्रमुख) अनमो चौधरीले पटक–पटक कुटपिट गर्दै आएका थिए । “मेरो मुटुको टुक्रा छोरा अभिराजलाई निर्ममता पूर्वक पिटेर बिरामी बनाइयो,” संगीता भन्छिन्, “कानको जालीमा समस्या आएको छ, र रगतचाप (बीपी) १४०÷११० सम्म पुगेको छ । अहिले उपचार चन्द्रनिगाहपुरमा भइरहेको छ ।”

अभिराज विगत एक वर्षदेखि मकवानपुरको हेटौंडा–११, संगम चोकमा अवस्थित ब्रेन बिल्डर एजुकेसन होममा बसी अध्ययन गर्दै आएका थिए । उनी भुटनदेवी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छन् ।

संगीताले उजुरी दिए पनि दोषीमाथि कुनै कानुनी कारवाही नभएको गुनासो गर्दै आएकी छिन् । “पुलिस प्रशासनमा धाइरहेकी छु, तर पिडक खुलेआम घुमिरहेका छन्,” उनले भनिन् । “जिल्ला प्रहरी कार्यालयमा गएकी थिएँ, तर म एक्लै हुँदा विपक्षीहरू सात–आठ जना जम्मा हुन्छन् । मलाई मानसिक रूपमा कमजोर बनाउने प्रयास हुन्छ । जब मेरो तर्फबाट एक–दुई जना आउने गर्छन्, तिनलाई तर्साएर भगाइन्छ ।”

संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकासँग न्यायको माग गरेकी छिन् । उनले आफ्नो उजुरी दर्ता गरी दोषी उपर तत्काल कानुनी कारबाही गरिदिन अनुरोध गरेकी छिन् ।

उनी भन्छिन्, “प्रहरी प्रमुखले मलाई अनुसन्धान भइरहेको बताए पनि कारवाही कहिले हुन्छ, थाहा छैन । म गरीब भएकै कारण मेरो छोराले यति धेरै यातना सहनुप¥यो । म न्यायको लागि भन्दै दिन–रात दौडिरहेकी छु ।”

संगीताले दिएको जाहेरीअनुसार जेठ १२ गते दिउँसो ५ बजेदेखि राति १० बजेसम्म अनमो चौधरीले अभिराजलाई लगातार कुटपिट गरे । सोही समयदेखि अभिराज शारीरिक रूपमा अस्वस्थ छन् । “छोरा भन्छन् – म रातभरि रोएँ, सुत्नै सकेन। बाडेन सरले चप्पल, लठ्ठी र हातले पिटे,” संगीता बताउँछिन् ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खडकाले बालबालिका सम्बन्धी गम्भीर आरोप भएकाले विस्तृत रूपमा अनुसन्धान भइरहेको र आवश्यक कदम चालिने बताए ।

तर हालसम्म घटनामा संलग्न भनिएका होमका बाडेन अनमो चौधरी र सञ्चालक सुदीप बर्तौलासँग सम्पर्क हुन सकेको छैन । कान्तिपुरका संवाददाताले अनमो चौधरीसँग सम्पर्क गर्न उनका मोबाइल नम्बर ९८५५०६९७११ मा पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेको जनाएको छ । होमका सञ्चालक सुदीप बर्तौलाको पनि औपचारिक प्रतिक्रिया लिन सकिएको छैन ।

स्थानीय बालअधिकारकर्मी र मानवअधिकारकर्मीहरूले यस घटनालाई गम्भीर रूपमा लिएको जनाएका छन् । “१४ वर्षे बालकमाथि यसरी शारीरिक र मानसिक यातना दिनु पूर्ण रूपमा गैरकानुनी हो,” मानवअधिकारकर्मी रेखा तिवारी भन्छिन्, “शिक्षण संस्था, त्यो पनि होस्टल, बालमैत्री हुनुपर्नेमा यो त पूर्ण अमानवीय व्यवहार हो । राज्यले तुरुन्तै दोषीमाथि कारवाही गर्नुपर्छ ।”

बाल संगठन मकवानपुरका अध्यक्ष प्रमोद अधिकारीका अनुसार जिल्लामा संचालित विभिन्न होमहरूमा यस्ता घटना पटक–पटक हुने गरेका छन् तर अधिकांश उजुरी दर्ता नै हुँदैनन् । “अभिभावकहरू डराउँछन्, अनि प्रहरीले पनि गम्भीरता देखाउँदैन,” उनले भने, “यो घटनाले भने सार्वजनिक चासो पाएको छ, आशा छ, दोषी कारवाहीमा पर्छन् ।”
उक्त होस्टलमा रहेका अन्य बालबालिकामाथि पनि यस्तै व्यवहार भएको आशंका गरिएको छ । “छोराको घटनापछि म त्यहाँ पुगेकी थिएँ,” संगीता भन्छिन्, “अरू केटाहरूको अनुहार पनि डरले भरिएको थियो । मलाई लाग्छ, यो पहिलो पटक होइन ।”

मकवानपुर जिल्ला शिक्षा कार्यालयले घटनाको जानकारी पाएपछि प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ । कार्यालयका एक कर्मचारीले नाम गोप्य राख्ने शर्तमा भने, “घटना गम्भीर देखिन्छ । होस्टलको इजाजत, व्यवस्थापन, शारीरिक दण्डप्रति नीति सबैको छानबिन हुनेछ ।”

घटना उजागर भएपछि अभिराजको उपचारमा जुटेकी संगीता भने अझै निराश र आक्रोशित देखिन्छिन् । “छोराले आफूलाई जोगाउन सक्दैन, मैले पनि कसैको साहारा पाएकी छैन,” उनले भावुक हुँदै भनिन्, “तर म चुप लाग्दिन, जे सुकै होस्, न्याय नपाएसम्म म लडिरहन्छु ।”

संगीताको उजुरीमा समेटिएका तथ्य र पिडकका बारेमा प्रहरी प्रशासनले यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिए पनि अहिलेसम्म प्रत्यक्ष कारवाहीको संकेत देखिएको छैन । पीडित बालकको अवस्था गम्भीर नभए पनि मनोवैज्ञानिक असर दीर्घकालीन हुनसक्ने विज्ञहरू बताउँछन् ।

मानवअधिकार आयोग र बाल आयोगले पनि स्वतः संज्ञान लिएर यस विषयमा छुट्टै अनुसन्धान अगाडि बढाउनु पर्ने आवाज उठ्न थालेको छ । स्थानीय वकिल तथा सामाजिक अभियन्ता मनोज खरेल भन्छन्, “न्याय दिलाउने हो भने, राज्य संयन्त्रले तत्काल प्रत्यक्ष कदम चाल्नुपर्छ । अन्यथा, यस्ता घटनाहरूले अभिभावकको विश्वास शिक्षण संस्थामा नरहन सक्छ ।”

पीडित परिवार न्यायको खोजीमा छ, होस्टल र प्रशासनले भने हालसम्म प्रतिक्रिया दिन सकेका छैनन् । अबको जिम्मेवारी राज्य र कानुनी प्रणालीको हो — पीडितलाई न्याय दिने कि फेरि अर्को संगीता कुमारी न्यायको लागि दौडिरहने ?