झापा । कोशी प्रदेश शरकारले कडा तथा गंभीर खालको रोग लागेका बिरामीलाई आर्थिक सहायता प्रदान गरेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए । ‘निवेदन धेरै परेको थियो, बजेट थोरै थियो’, उनले भने, ‘सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।’ सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।
कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उनले बताए ।
यसअघि पनि प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।
प्रतिक्रिया