शक्तिशाली आँधीले जापानमा पाँच जनाको मृत्यु, लाखौ प्रभावित

एजेन्सी । जापानमा शक्तिशाली आँधी ‘शानशन’ले लाखौँ मानिस प्रभावित भएका छन्। दक्षिण पीश्चमी टापु क्यूशूमा स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे ठोक्किएर अघि बढेको आँधीका कारण हालसम्म पाँचजनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्।

आँधीले जापानका अन्य टापुलाई समेत प्रभावित बनाएको र ५० लाखभन्दा बढी मानसि प्रभावित भएको समाचार एजेन्सी एएफपीले जनाएको छ। क्यूशु टापुमा ठोक्किँदा शानशन आँधीको गति २५२ किलोमिटर प्रतिघण्टा रहेकोमा त्यसबाट अघि बढ्दा १२६ किलोमिटर प्रतिघण्टाको गतिमा झरेको छ। यो आँधी पछिल्लो दशककै सबैभन्दा शक्तिशाली हो।

आँधीसँगै क्यूशु द्वीपमा पछिल्लो ४८ घण्टामा ७९१।५ मिलिमिटर वर्षा मापन भएको छ। आँधीका कारण जापान एयरलाइन्सले आजका लागि तोकिएका झण्डै ६००भन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको छ। बुधबार र बिहीबार ठूलो संख्यामा उडान रद्द हुँदा ५० हजारभन्दा बढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।