रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता हुँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता हुने भएकाे छ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले आज सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गर्ने बताएको हो । सरकारी वकिल कार्यालयले हिजो (बिहीबार) नै मुद्दा दर्ताको तयारी गरेपनि समय अभाव भएपछि उक्त मुद्दा दर्ता आज गरिने सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बताए ।

सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम लामिछाने प्रवन्धक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।

प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा आज मुद्दा दायर गर्न लागेको हो । लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर रिहा भएका छन् ।