मलेसियाद्वारा १३ नेपालीलाई निष्काशन

काठमाडाै । मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेकाे अभियाेगमा १३ नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ ।

उनीहरू गत साता काठमाडौं आइपुगे । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेकाे हाे ।

अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल पठाएको हो ।  त्यसरी निष्काशित हुनेहरूमा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार,  लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री,सोनु विक  र कमल कुमार शाही छन् ।

मलेसियाको अध्यागमन प्रहरीले  गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसिया श्रमिकहरूका लागि आकर्षक मुलुकम मानिन्छ । नेपालले श्रम सम्झौता गरी विगत लामो समयदेखि नेपाली श्रमिकहरूलाई कामका लागि मलेसिया पठाउँदै आएको छ । मलेसियाको अध्यागमनले कम्पनी फेर्ने,ओभर स्टे र आपराधिक गतिविधिमा संलग्न नेपालीलगायत त्यहाँ कार्यरत विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ ।