परासी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण माओवादी केन्द्रसँगको एकतामा ढिलाइ भएको निष्कर्ष निकाल्दै तत्काल पार्टी एकता नभए विशेष अधिवेशन गर्ने तयारी गरेकाे छ ।
कपिलवस्तुमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकाल्दै विशेष महाधिवेशनकाे तयारी गरेकाे हो ।
तत्काल माओवादी–नेकपा एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । एकताका लागि माहौल नभए आफ्नोतर्फबाट थप पहल नगर्ने भन्दै नेकपाले माओवादीको आगामी केन्द्रीय समितिको निर्णय गरेर पार्टी अघि बढ्ने निष्कर्ष समेत निकालेको केन्द्रीय समिति सदस्य विमर्श आचार्यले जानकारी दिए ।
यस्तै बैठकले माघ ५ गतेदेखि एक महिने पूर्व– पश्चिम जनपरिचालन अभियान चलाउने निर्णय पनि गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिने बैठकले निर्णय गरेको आचार्यले जानकारी दिए । केन्द्रीय पदाधिकारी, पोलिट्ब्यूरो, स्थायी समिति र केन्द्रीय सदस्यहरू अनिवार्य उत्पादनको काममा जोडिने बैठकले निर्णय गरेको उनले बताए ।
मंसिर २८ देखि सुरू भएको नेकपाको केन्द्रीय समिति मंगलबार सकिएको हो । बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले पछिल्लो राजनीति, विगतमा पार्टीले गरेको काम, अन्तर्राष्ट्रिय परिस्थिति र आगामी कार्यभारसम्बन्धी १७ पृष्ठको प्रतिवेदन पेस गरेका थिए ।
प्रतिक्रिया